काठमाडौं :
आइतबार दिउँसो बलिउड स्टार राकेश वेदी फिल्म प्रवर्धनको लागि नेपाल आइपुगेका छन्। उनी अभिनित पछिल्लो फिल्म ‘है जवाती तो इश्क होना है’ प्रमोसनका लागि नेपाल आएका हुन्। अहिले उनी काठमाडौंको सिटी सेन्सरमा रहेको बिग मुभिजमा उपस्थित रहने कार्यक्रम रहेको छ।
यो फिल्मको प्रवर्धनका लागि वितरण कम्पनी नियोम फिल्म्स र क्यापिटल वर्ल्ड ग्रुपले अभिनेता वेदीलाई नेपाल बोलाएको हो। आजबाट नै उनी काठमाडौंका हल भिजिटमा निस्किएका छन्।
उनको नेपाल भ्रमणको आयोजना चलचित्र वितरक कश्यप नरेन्द्र वेद र नवीन उदाशले गरेका हुन्। यो टोली नेपालमा प्रदर्शन भएको अर्को फिल्म ‘पेड्डी’ सँग पनि आबद्ध रहेको छ।
पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजा–आराधना गर्ने कार्यक्रम पनि तय गरिएको छ भने भोली दिउँसो २ बजे मण्डला थिएटरमा आयोजना हुने नेपाल र भारतबीचको सांस्कृतिक आदानप्रदान सम्बन्धी पत्रकार सम्मेलनमा पनि उनी सहभागी हुने कलाकार विजय बरालले जानकारी दिए।
वेदी भारतीय फिल्म तथा टेलिभिजनमा करिब पाँच दशक लामो अभिनयमा बिताएका छन्। उनी अभिनित चश्मे बद्दूर, हीरो नम्बर १, दिल है कि मानता नहीं लगायतका दर्जनौं फिल्म र लोकप्रिय टेलिशृंखला चर्चामा छन्। उनको पछिल्लो फिल्म धुरन्धर २ नेपालमा यसवर्ष सर्वाधिक कमाउने विदेशी फिल्म हो ।