सुचना, समाचार र मनोरन्जन

सांसदद्वारा सुकुमवासीका समस्या समाधान गर्न माग

काठमाडौँ, 
प्रतिनिधिसभाका सांसदहरूले सुकुमवासीका समस्या तत्काल सम्बोधन गरी उचित व्यवस्थापनको माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बोल्न समय दिनुहुँदा सुकुमवासी समस्या समाधानसहित समसामयिक विषयमा भनाइ राखेका हुन् ।
सांसद गणेशसिंह ठगुन्नाले सुकुमवासीको समस्या बेलैमा सम्बोधन गर्न सरकारको ध्यानर्कषण गराए । साथै उनले प्रधानमन्त्री वालेन्द्र शाहले केही समयअघि सदनमा सीमा सम्बन्धमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे ।
सांसद रमेशकुमार मल्लले केही दिनअघि आत्मदाह गरेका गणेश नेपालीप्रति महानगरीय प्रहरीले देखिएको व्यवहार दुःखद् भएको उल्लेख गर्दै अब यस्ता घटना दोहोरिन नदिन सरकारसहित सम्बद्ध सबै सचेत हुनुपर्ने धारणा व्यक्त गरे ।
सांसद आरेन राईले सीमा विवादसम्बन्धी प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति गलत भएको टिप्पणी गर्दै मुलुकका श्रमिक, गरिब, सुकुमवासीका हकहितका पक्षमा काम गर्न सरकारसँग अनुरोध गरे ।
सांसद ज्ञानबहादुर शाहीले आमनागरिकको बाँच्न पाउने आधार खोसिन नहुने बताउँदै गणेश नेपालीको आत्मदाहलाई रुखो व्यवहारले प्रोत्साहन गरेकाले त्यसमा संलग्न दोषीलाई कारबाही गर्न माग गरे ।
सांसद निष्कल राईले लोकतन्त्रको गहना भनेकै जवाफदेहिता र प्रश्न गर्ने अधिकार रहेको बताउँदै जनताको अभिव्यक्ति स्वतन्त्रतामा कुनै किसिमको बन्देज लगाउन नपाइने उल्लेख गरे । उनले एउटा नागरिकले आफ्नो ज्यान गुमाउन बाध्य हुनुपर्ने घटनाका बारेमा सरकार संवेदनशील हुनुपर्ने बताए ।
Leave A Reply

Your email address will not be published.