सुचना, समाचार र मनोरन्जन

अन्नपूर्ण ‘ट्रेल रेस’ को उपाधि घराम्दीका कुशल पुर्जालाई

म्याग्दी,

अन्नपूर्ण हिमाल आरोहणको ७५औं वार्षिकोत्सवका अवसरमा आज म्याग्दीमा भएको अन्नपूर्ण ‘ट्रेल रेस’ को उपाधि अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुर्जाले जितेका छन् ।

चार हजार ९१ मिटर उचाइको अन्नपूर्ण आधार शिविरदेखि अन्नपूर्ण–४ नारच्याङ गाउँसम्म मौरिस हर्जोग पदमार्गमा भएको प्रतियोगितामा ३६ किलोमिटरको दूरी उनले दुई घण्टा ४७ मिनेट ३७ सेकेन्डमा पूरा गरे ।

अन्नपूर्ण–६ घारका लोकबहादुर बरुवालले दुई घण्टा ५२ मिनेट ५१ सेकेन्ड र सञ्जयबहादुर बरुवालले तीन घण्टा आठ मिनेट ३७ सेकेन्डमा निर्धारित दूरी पार गरेर दोस्रो र तेस्रो भएका प्रतियोगिताको व्यवस्थापन गरेको भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले जानकारी दिए ।

विजयी पुर्जा भारतीय गोर्खा सैनिक र उपविजेता बरुवाल नेपाली सेनाका जवान हुन् । विजेता, उपविजेता र तेस्रो हुनेलाई आज दिउँसो नारच्याङ बेँसीमा आयोजना हुने समारोहमा प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव मनाइँदैछ ।

Leave A Reply

Your email address will not be published.