काठमाडौं :
गत पुष ४ गतेबाट हलमा लागेको फिल्म ‘झरिपछिको इन्द्रेणी’अन्तत युटुबमा आएको छ। ‘पाँडे’को रूपमा परिचित हास्य कलाकार अर्जुन घिमिरेको निर्देशनमा निर्माण भएको यो फिल्मलाई काठमाडौंका पूर्वमेयर तथा र्यापर बालेन शाहको युट्युब च्यानलबाट फिल्म रिलिज भएको हो।
निर्माण टिमले हल रिलिजको २ महिनामै निःशुल्क डिजिटल प्लेटफर्म युट्युबमा रिलिज गरेका हुन्। यस फिल्मको गीतमा उनै शाहले एउटा गीत समेत गाएका छन्। नेपालको जेन्जी आन्दोलनसँग सम्बन्धित रहेको यस फिल्मले अहिले नेपालमा भइरहेको भ्रष्टचार, बेथिती र विसंगतिविरूद्धको कथावस्तुमा पर्दामा उतारेको छ। यही फागुन २१ गते हुने चुनावको मुखैमा यो फिल्म रिलिज भएसँगै अब यस फिल्मले चुनावमा ठूलो प्रभाव पार्ने देखिन्छ।
यस फिल्मलाई निर्देशक घिमिरे स्वयंको कथा तथा मुख्य भुमिकामा अभिनय रहेको छ। उनका अलवा फिल्ममा अर्जुनसहित गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी), विमोचन दवाडी, जेसिका पोखरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ।
त्यसै गरि यो फिल्मको पटकथा तथा संवाद राष्ट्रिय स्वतन्त्र पार्टीका अहिलेका मोरङ क्षेत्र नम्बर ४का उम्मेदवार गणेश कार्कीले लेखेका हुन्। उनलाई विशाल घिमिरेले लेखनमा सघाएका छन्। अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको फिल्मको छायांकन बुद्ध थापाले गरेका हुन्। यो फिल्मले प्रदर्शन अवधिसम्म १ करोड ३० लाख हाराहार ग्रस कलेक्सन गरेको छ।
यो फिल्म रिलिज भएको ४ घण्टामा ६५ हजार भ्युज गएको छ भने ११ सय भन्दा बढिले कमेन्ट गरेका छन्। साथै १३ हजारले लाइक गरेका छन्। कमेन्टमा अधिकांशले बालेनलाई प्रधानमन्त्री हेर्न चाहेको उल्लेख गरेका छन्।