सुचना, समाचार र मनोरन्जन
Sarangi

चित्राका निर्देशक लामिछाने भन्छन्,‘ फिल्म आफैंमा कला हो,म विभाजन गर्न चाहन्नँ’

काठमाडौं :

फिल्म ‘धौली’,‘पञ्चेबाजा’ लगायत फिल्म निर्देशन गरेका घनश्याम लामिछानेको पछिल्लो फिल्म ‘चित्रा’ प्रदर्शनको तयारीमा रहेको छ। यहि २७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘चित्रा’को बिहिबार काठमाडौंमा प्रेसमिट राखिएको थियो। जसमा निर्देशक लामिछानेले फिल्म पहिलाको तुलनामा निकै राम्रो बनेको प्रतिक्रिया दिएका छन्।

तपाईका अघिल्ला फिल्महरु नाटक जस्ता थिए यो फिल्म साँच्चै फिल्म नै छ कि नाटक नै छ भन्ने पत्रकारको प्रश्नको जवाफमा यस पटक आफुले निकै कुरा सुधारेर फिल्म नै बनाएको तर्क दिए।

‘यसपछि आउने लण्डन टु पेरिस’ले मलाई मूलधारसँग जोड्छ,’उनले भने,‘फिल्म आफैंमा कला हो । म विभाजन गर्न चाहन्नँ।’
उनले थपे,‘मैले बनाएका अघिल्ला फिल्म नाटकजस्ता भए भन्ने गुनासो पनि आयो । नाटकलाई अब नाटकघरमै बनाउँछु । अहिले चाहिं हलमा सिनेमा देखाऊँ कि भनेर लार्जर द्यान लाइफ फिल्म बनाएको छु ।’

प्रेसमिटमा नयाँ कुरा खोल्छु भन्दै उनले यो फिल्म बाबुछोरीको मात्र कथा नभएर एउटा महिलाप्रधान फिल्म भएको दाबी गरे।

फिल्मका मुख्य अभिनेता प्रमोद अग्रहरीले क्यामेरा भन्दा बाहिर आफु निकै मिलनसार रहेको बताए। उनले भने,‘मेरो पात्रले फिल्ममार्फत विभिन्न कथा भन्छ । मलाई रिसाउन क्यामेराअघि मात्रै आउँछ । मलाई मान्छे मार्न क्यामेराअघि मात्रै आउँछ ।’

उनले फिल्म चित्राको ट्रेलर हेरेका दर्शकलाई प्रमोद रिसाहा जस्तो लाग्छ तर त्यो क्यामेरा अगाडी मात्रै हो भनेर मिठो जवाफ फर्काए।

‘चित्रामा मलाई रिसाएको र मान्छे मारेको रुपमा मात्र देख्नुहुन्छ,’उनले आफुलाई हेर्दै भने,‘अरु कुरा मेरो क्यारेक्टरले भन्छ ।’
अर्का अभिनेता सन्तोष अधिकारीले फिल्मको लामो समयको अध्ययन र अनुभव पछि फिल्ममा काम गरेको बताए।

बाबुछोरीको सम्बन्धको कथामा आधारित फिल्ममा अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका कलाकारले अभिनय गरेका छन्। अभिनेता अधिकारी नै यस फिल्मका कार्यकारी निर्मातामा हुन् ।

आशिष थापा निर्माता रहेको यस फिल्ममा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको छ। फिल्मका गीतमा राजनराज शिवाकोटीको संगीत सुन्न सकिने छ । सन्तोष अधिकारी फिल्म्स, अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा फिल्म तयार भएको हो। फिल्मको गीत र ट्रेलरलाई दर्शकले मन पराएका छन्।

Leave A Reply

Your email address will not be published.